पैसा नतिर्ने उद्योगमा आज साँझदेखि विद्युत जडान हुँदै

0 Shares

काठमाडौं । पैसा नतिर्ने देशका विभिन्न छ वटा उद्योगमा काटिएको विद्युतको लाइन आज साँझदेखि जोडिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्युतको लाइन जोडिने भएको हो ।

पडेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल बक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । ‘लाइन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिने छ,’ बैठकमा गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी हाललाई लाइन जोड्ने निर्णय गरिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रधानमन्त्री ओलीले लाइन जोड्न निर्देशन दिँदै आएका थिए ।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल उद्योगको लाइन काटेको थियो ।

सम्बन्धित समाचार