काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् । उच्च रक्तश्राव भएपछि उनी सिनामंगलस्थित केएमसी अस्पताल भर्ना भएकी हुन् ।
दैलेख घर भएकी मनकुमारी सिंहलाई शुक्रबार काभ्रेकी एक महिलाको २६ दिनको शिशु चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज संकलन गरेर अनुसन्धान गरेको थियो ।
शिशु लिएर हिँडेकी मनकुमारीलाई शुक्रबार राति १२ बजे प्रहरीले काठमाडौंको काँडाघारीमा फेला पारेको थियो । शिशुको पनि उद्दार गरी परिवारको जिम्मा लगाइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि मात्रै मनकुमारीको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार उनी ७ महिनाको गर्भवती थिइन् । बच्चा नरहेपछि उनी विक्षिप्त भएकी थिइन् ।
प्रहरीले महिलाको भावनात्मक पाटो भएकाले के मुद्दा चलाउने भन्ने निर्णय भइनसकेको बताए । प्रहरीले गएराति महिला, उनका पति र दिदीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।