महाकालीमा पानीको बहाव बढेपछि सवारी साधन चलाउन बन्द, मर्कामा परे यात्रु

0 Shares

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल)मा सवारी साधन चलाउन बन्द गरिएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चार पाङ्ग्रे ठूला सवारी साधन चलाउन रोक लगाइएको हो ।

साना सवारी साधन र पैदल यात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६६० क्युसेक रहेको छ ।

“शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ,” उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारी साधन चलाउन रोक लगाउपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

सम्बन्धित समाचार