काठमाडौँ । यो साता शेयर बजार बढेको छ । यो साता सत्ता राजनीतिमा आएको परिवर्तनले धितोपत्र बजार प्रभावित भएको देखाउँछ ।
गत साता २ हजार ५१.९२ मा बन्द भएको शेयर बजार नेप्से परिसूचक यो साता २ हजार ११९.७० अंकमा बन्द भएको छ । यो साता नेप्से परिसूचक ६७.७८ अंकले बढेको छ ।अघिल्लो साता भने बजार १६.३९ अंकले घटेको थियो ।
यो साता धितोपत्र बजारमा पाँच दिन कारोबार भएको छ । जसमा चार दिन बजार बढेको थियो भने एक दिनमात्र बजार घटेको थियो ।यो साता दोस्रो बजारमा २२.७५ अर्ब रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता २१.४१ अर्ब रुपैयाँको कारोबार भएको थियो । यसलाई तुलना गर्दा यो साता नेप्से परिसूचक र कारोबार दुबै बढेको छ।
यो साता बजार बढकोले कारोबार पनि बढेको छ । यो साता बजार पूँजीकरण ३३.६२ खर्ब रुपैयाँ रहेको छ भने अघिल्लो साता बजार पूँजीकरण ३२ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।
गत साता घटेको बजार यो साता बढ्नुमा सत्ता समीकरणमा हेरफेर प्रमुख कारण हो । सोमबार मध्यरातमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले) बीच सहमति भएपछि मंगलबारको कारोबारमा दुई पटक सर्किट ब्रेक लागेको थियो ।तर यसैदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मत नै लिने बताएपछि बजार सम्हालिएको थियो ।
आइतबार ३ अर्ब ६० करोड, सोमबार २ अर्ब ९९ करोडको कारोबार भएकोमा सत्ता परिवर्तनकै कारण मंगलबारको कारोबार रकम उच्च छ । मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपछि बजार बढ्दै बुधबार ५ अर्ब ८ करोड र बिहीबार ६ अर्ब ४८ करोडको कारोबार भएको छ ।
साताको कारोबारमा सबै समूहगत परिसूचकहरू बढेका छन् । गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक सर्वाधिक ९.८१ प्रतिशतले बढेको छ ।यसपछि विकास बैंक छ ।यो समूह ८.८९ प्रतिशतले बढेको छ । त्यसैगरी, वित्त ७.११ प्रतिशत, बैंकिङ ५.५७ प्रतिशत, जीवन बीमाको ४ प्रतिशत, लगानी समूह ३.८७ प्रतिशत, होटल तथा पर्यटन ३.०९ प्रतिशतले बढेको छ ।
यो साता धेरै कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर,नेपाल फाइनान्स,मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र आईसीएफसी फाइनान्स छन् ।