असम्भव कांग्रेस-एमाले गठबन्धन यसरी बन्यो

0 Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन पछिल्लो निर्वाचनपछिको चौथो समीकरण हो । तेस्रो समीकरणसम्म आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता गठबन्धन सौहार्द ढंगले अगाडि बढेको थियो ।

पछिल्लो पटक गत फागुनमा सत्ता गठबन्धन बनेपछि प्रचण्ड र ओलीबीच बजेट भाषणसम्म आउँदा सौहार्द रुपमा अघि बढेको थियो । जब अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट भाषण प्रस्तुत गरे त्यसपछि विवादको श्रृखला सुरू भएको एक एमाले नेताले बताए ।

ओलीले बजेटलाई लाल बजेट आएको भन्दै आलोचना सुरु गर्न थाले । एमालेको बैठकमा उनले आफ्ना सांसदहरूलाई संसदमा खुलेर आलोचना गर्न निर्देशन दिएका थिए ।

त्यसपछि एमालेका सूर्य थापालगायत अधिकांश सांसदले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै आलोचना सुरु गर्न थालेका थिए । त्यति नै बेला धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति, राजदूत नियुक्तिलगायत अधिकांश बागबण्डमा प्रचण्ड हाबी बनेपछि ओली प्रचण्डसँग चिढिदै गएका हुन् । यद्यपि, बजेट प्रतिनिधिसभाबाट पास भए पनि राष्ट्रियसभाबाट पास हुन बाँकी नै छ ।

जब, भुटानी शरणार्थी प्रकरणमा बेतन झा पक्राउ परे । झाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाको संलग्नताको पोल खुलाएपछि ओली र देउवाको निकटता बढेको थियो ।

कांग्रेस र एमालेबीच समीकराण गर्नु पर्ने भन्दै दोस्रो तहका नेताहरू सम्वादमा भइरहँदा झा समातिएपछि गत शनिबार देउवा पत्नी लिएर अ‍ोली निवास बालकोट पुगेका थिए । प्रायः देउवा शीर्ष नेतृत्व तहको भेटघाटमा आफ्ना विश्वास पात्र नेतालाई लिएर पुग्ने गरे पनि शनिबार ओलीलाई विश्वासमा लिन पत्नीलाई मात्रै लिएर बालकोट पुगेका थिए ।

गृहमन्त्री रवि लामिछानेले आरजुलाई समेत आधार बनाएर गहिरो अनुसन्धान गरी निष्कर्षमा पुग्ने गरी तयारी गरेपछि देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।

देउवा ओली नजिकिएसँगै ओलीमाथि लाग्दै आएको गिरिबन्धु टी स्टेटको आरोपमा कांग्रेस नेताहरू मौन भएका थिए । उता, एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि ओलीको स्वकीय सचिव राजेश बज्राचार्यको कनेक्सन भएको प्रहरीले अनुसन्धानमा खुलाएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री लामिछाने ती दुई जनालाई गहिरो छानबिन गरिनु पर्छ भन्दै छिनोफानोमा पुग्ने निष्कर्षमा पुगेपछि ओली सत्ताको बागडोर सम्हाल्न तयार भएको ती एमाले नेताले बताए ।

सत्ता परिवर्नतको खेलका जानकार प्रचण्ड सोमाबार बिहान बालुवाटारमा ओलीलाई फकाएर यही समीकरणबाट प्रधानमन्त्री बन्न अफरसमेत गरे । प्रचण्डले ओलीलाई थप सुझाव दिँदै कांग्रेसको गठबन्धनमा नजान आग्रह गरे । त्यसमा ओलीले समेत मौन समर्थन जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताको भेटपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धन लामो समय जाने प्रचण्डले मन्त्रीहरूलाई ब्रिफ्रिङ गरेका थिए । सोमबार राति अचानक कांग्रेस एमाले सत्ता समीकरण भएर जाने र ओली प्रधानमन्त्री बन्ने भएपछि प्रचण्ड झस्किएका छन् ।

सम्बन्धित समाचार