काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा, यस दिन ३२० स्टकको ५० हजार ९५२ पटकको कारोबारमा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.७६ प्रतिशत बढेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको करिब १२ करोडको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ।