काठमाडौँ । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट जारी छ । सेयर बजारका लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा कारोबारीहरुले आफू अनुकुल कम पुँजी भएका र कमजोर वित्तीय विवरण भएका कम्पनीको सेयर मुल्यमा वृद्धि गराएका छन् । यसले बजारमा जोखिम बढाएको छ ।
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष चयन प्रकृया गिजोलिँदा समग्र धितोपत्र बजारमा नैशारश्यता पैदा भएको हो । बजारमा कारोबारीहरुले कम पुँजी भएका ‘लो क्पाप’ कम्पनीको मूल्यमा वृद्धि गराएका छन् । सबल वित्तीय अवस्था भएका कम्पनीको सेयरको भाउ उस्तै रहँदा थोरै पुँजी भएका र कमजोर वित्तीय अवस्था रहेका कम्पनीको मूल्यमा भने दिनानुदिन उतार चढावको चलखेल सुरु भएका हो । बोर्डको नेतृत्व चयन हुन नसक्दा नियमन सहित समग्र धितोपत्र बजार नै कमजोर बन्न पुगेको हो ।
चालु आर्थिक वर्षको समाप्ती नजिकिँदै गर्दा समेत बजारमा उत्साह छाउन सकेको छैन । बैंकिङ्ग प्रणालीमा ६ खर्ब बढी लगानीयोग्य रकम रहनु र घट्दै गएको ब्याजदरको सकारात्मक असर समेत धितोपत्र बजारमा पर्न सकेको छैन । दीर्घकालीन लगानी गरेका लगानीकर्ताको पोर्टफोलियो अझै मुनाफामा जान सकेको छैन भने अल्पकालीन लगानीकर्ताले थोरै पुँजी भएका कम्पनीमा चलखेल बढाएका हुन् ।
बुधबार नेप्से ११.६० अंकले घटेर २०६० दशमलव १६ बिन्दुमा झरेको छ ।कारोबारमा आएको दश उपसमुगत सूचक राताम्मे बनेको छ भने तीन ओटामा मात्र झिनो वृद्धि देखिएको छ । यसले समग्र बजारमा दैनिक कारोबार रकम समेत घटाएको छ । बुधबार ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ५४ जार ७९३ पटक खरिद बिक्री भएको हो । मंगलबारको तुलनामा बुधबार १३ करोडले कारोबार घटेको हो ।
आज कारोबारमा आएका १३ उपसमुहगतसूचकमध्ये फाइनान्स ०.४५, ब्यापार ०.२२ र म्युचुअल फन्ड ०.१४ प्रतिशतले बढेको छ भने आज विकास बैंक सर्वाधिक १.०३ प्रतिशतले घटेको हो । बाँकी सबै एक प्रतिशतभन्दा कम घटेका छन् ।
नेपाल फाइनान्सको सर्वाधिक कारोबार
बुधबारको बजारमा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको मूल्य आज ९.८७ प्रतिशत अर्थात ९२ रुपैयाँ ८० पैसाले बढेर १०३३ रुपैयाँ पुगेको छ । दिनभरमा कम्पनीको १ लाख ७४ हजार ९८८ कित्ता सेयर ११७९ पटक खरिद बिक्री हुँदा कारोबार १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बढीको धितोपत्र किनबेच भएको छ ।
यसैगरी गुडविल फाइनान्सको १५ करोड १६ लख ४९ हजार, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड ३३ लाख ५४ हजार, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ८२ लाख १३ हजार र पोखरा फाइनान्सको ८ करोड ८१ लाख ६४ हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । बुधबार शीर्ष कारोबार हुने दश कम्पनीमा साधना लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, सिईडिबी हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेड रहेका छन् ।