भ्रष्टाचार गर्ने सात अधिकृत ठोषी ठहर, मृतक अधिकृतसहित सबैमाथि कैद र बिगो दाबी

0 Shares

काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित सात जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कारबाही कायम गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनीहरूलाई विशेष अदालतले जनही २ देखि ८ वर्षसम्म कैद हुने गरी सजाय तोकेको छ । यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले सात अधिकृतलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

भ्रष्टाचार गर्ने अधिकृतहरूमा हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारी रहेका छन् ।

अदालतले मालपोत अधिकृत मिश्र, बोगटी र तिवारीलाई ८-८ वर्ष कैद सजाय तोकेको छ । यस्तै, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको निधन भइसकेको छ । उनलाई अदालतले एक करोड २५ लाख ११ हजार रुपैयाँ बिगो तिराउने फैसला गरेको छ । उनको यो बिगो छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट असुलउपर गर्नु पर्ने फैसला सुनाएको छ ।

मिश्र र बोगटीले जनही एक करोड २५ लाख ११ हजार बिगो तिर्नु पर्ने भएको छ । त्यस्तै, ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले एक करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नु पर्ने भएको छ ।

अर्का प्रतिवादी भण्डारीको हकमा विशेषले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार जरिवाना तिर्नु पर्ने फैसला गरेको छ ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत मिश्रविरुद्ध दुई करोड नौ लाख ३१ हजार रुपैयाँ राजश्व हिनामिनाको मुद्दा चलाएको थियो । अर्का अधिकृत बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

सम्बन्धित समाचार