एनपीएलको दोस्रो क्वालिफायरमा टस जितेको चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

0 Shares

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा चितवनले टस जितेको छ ।

टस जित्दै चितवनका कप्तान सिकन्दर राजाले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

दोस्रो क्वालिफायरको यो निर्णायक भिडन्तलाई दुई फरक शैलीका अनुभवी कप्तान सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका रवि बोपाराबीचको रणनीतिक परीक्षाका रूपमा हेरिएको छ ।

तीन सिजनको समग्र प्रदर्शनलाई नियाल्दा दीपेन्द्रसिंह ऐरी एनपीएलकै सर्वाधिक सफल र निरन्तर लयमा रहेका कप्तान हुन् । उनको नेतृत्वमा सुदूरपश्चिमले पहिलो र दोस्रो दुवै सिजनको फाइनल खेलेको छ ।

जारी सिजनमा पनि लिग चरणमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भए पनि दीपेन्द्रको अलराउन्ड प्रदर्शन टोलीको मुख्य आधार हो ।

जारी प्रतियोगितामा २०२ रन बनाइसकेका दीपेन्द्र आक्रामक ब्याटिङ, कसिलो बलिङ र चुस्त फिल्डिङमार्फत एक्लै खेलको नतिजा पल्टाउन सक्ने क्षमता राख्छन् । एनपीएलका तीन सिजनमा चितवनविरुद्ध भएका तीनमध्ये दुई खेलमा सुदूरपश्चिम विजयी हुनुले पनि दीपेन्द्रको टोलीको मनोबल उच्च छ ।

अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको चितवनले यसपटक लिग चरणमा ७ अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनायो ।

बुधबार इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन उच्च मनोबलका साथ मैदान उत्रँदैछ ।

आफ्नो ५०० औं टी–२० खेलमा ५३ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका बोपाराले जारी सिजनमा २३७ रन बनाइसकेका छन् ।

परिस्थितिअनुसार इनिङ्स सम्हाल्ने कला र ५०० टी–२० खेलको विशाल अनुभव बोपाराको सबैभन्दा ठूलो शक्ति हो ।

हेड–टु–हेड र समग्र निरन्तरतामा दीपेन्द्रको सुदूरपश्चिम बलियो देखिए पनि नकआउट चरणको दबाब झेल्न सक्ने बोपाराको अनुभव र कामिल मिश्राको शतकीय लयले चितवनलाई उत्तिकै खतरनाक बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।

सम्बन्धित समाचार