आइएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित

0 Shares

काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए। उनले राज्यप्रतिको दायित्व पूरा गर्दै देशको आर्थिक विकासमा योगदान पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल रहेको आइएमईले रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचान थप उचाइमा पुर्‍याउने जनाएको छ।

अध्यक्ष ढकालले रेमिट्यान्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई प्राथमिकता दिँदै कम्पनीले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्ने उनको भनाइ छ।

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यसै योगदानका आधारमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ।

आइएमई यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित हुँदै आएको छ।

सम्बन्धित समाचार