जिउँदै हुँदा छोराले मृत्यु दर्ताको प्रमाणपत्र बनाइदिएपछि…

0 Shares

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका ७ नं. वडा कार्यालयले मृत्यु नभएका व्यक्तिलाई मृत्यु दर्ता प्रमाणपत्र दिएको खुलेको छ । छोरा सूचक पवन सुब्बा लिम्बूले जितबहादुर लिम्बूको मृत्यु भएको भनी फाराम भरेका आधारमा वडाले मृत्यु दर्ता प्रमाणपत्र दिएको हो ।

त्यति नभई २०८१ साल जेठ २० गते वडा कार्यालयले लिम्बूलाई मृत्यु दर्ता प्रमाणपत्र, पदमबहादुर र होमा लिम्बूलाई विवाह दर्ता प्रमाणपत्र र छोरा विपन सुब्बा लिम्बूलाई जन्मदर्ता प्रमाणपत्र दिएको छ ।

सूचक पवन सुब्बाले २०८१ साल वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही दिन होमादेवी लिम्बू सूचक भएर छोरा विपन सुब्बा लिम्बूको जन्मदर्ता प्रमाणपत्र लिएको देखिन्छ ।

जितबहादुर र होमादेवी दम्पती हुन् । तर, होमादेवी लिम्बू दुलही र पदमबहादुर लिम्बू दुलहा भएर निजहरूले विवाह दर्ता प्रमाण पत्रसमेत लिएका छन् । विवाह दर्तामा होमादेवीका श्रीमान्को नाम पदमबहादुर लिम्बू भए पनि मृत्यु दर्तामा भने जितबहादुर लिम्बू उल्लेख छ ।

विवाह दर्ता र मृत्यु दर्तामा नाम फरक भए पनि जितबहादुर र पदमबहादुरको नागरिकता नम्बर भने एउटै (७५६४-२६३) छ । अझ रोचक पक्ष के छ भने विवाह दर्तामा पदमबहादुरको बाबुको नाम शेरबहादुर लिम्बू छ । मृत्यु दर्तामा सिंहबहादुर लिम्बू रहेको छ ।

रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भने, “वास्तविकता के हो नबुझीकन भन्ने अवस्था छैन, हामीले पनि सुनेका मात्रै हौ, हामी अध्ययन गरिरहेका छौँ ।”

वडाका पञ्जिकाधिकारी सरोज ढकालले तीन वटै दर्ता प्रक्रिया भूलवश भएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता रद्द गरिपाऊँ भनी निवेदन दिएका छन् । जेठ २३ गते नै ढकालले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

उनले भने, “सूचकले भरेको फारामका आधारमा मृत्यु दर्ता प्रमाण दिएको हो, तर मृत्युदर्ता र जन्मदर्ता गर्ने क्रममा नागरिकता नम्बर एउटै भेटिएपछि रद्दका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिएका छौँ ।” स्थानीयका अनुसार वडाध्यक्ष राम कार्की र विपन सुब्बा नातेदार हुन् ।

सम्बन्धित समाचार