काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतसम्म बढुवा भएका थिए ।
उनले विभिन्न पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उपअनुसन्धान निर्देशक बनेका थिए । उनीमाथि ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।