यो दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगिने, मूल्य कति पर्ला ?

0 Shares

काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगिने भएको छ । कलङ्कीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यसपालि जिउँदो खसीकै मूल्य प्रतिकिलो ८५० देखि ९ सय रुपैयाँसम्म पुग्ने देखिएको छ ।

पोहोर साल अधिकतम ७५० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भएको जिउँदो खसी यस वर्ष किलोमै १५० देखि २०० रुपैयाँसम्म महँगिएको हो । जिउँदो खसीकै मूल्य ९ सय रुपैयाँ पुग्ने भएपछि पसलमा काटेर बेची तयारी मासु (तयारी मासु) को मूल्य अझै आकासिने निश्चित छ ।

अहिले बजारमा मासुको मूल्य प्रतिकिलो १७०० रुपैयाँसम्म रहेको छ । गाउँमा खसी बोकाको उत्पादन कम हुनु र हालैको बाढी पहिरोले देशका विभिन्न भागका राजमार्ग र सडकहरू अवरुद्ध हुँदा ढुवानीमा ठुलो समस्या परेकाले मूल्य बढेको केन्द्रका अध्यक्ष जीवनराज खतिवडाले बताएका छन् ।

यद्यपि, च्याङ्ग्राको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको छ । अहिले बजारमा च्याङ्ग्रा प्रतिकिलो १२५० देखि १३५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । बाटोघाटोको समस्याका बाबजुद पनि यस वर्षको दसैँमा उपत्यकामा २२ देखि २३ हजार खसी बोका र करिब ४ हजार च्याङ्ग्रा भित्र्याउने तयारी छ । देशका ४० जिल्लाबाट आयात भइरहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार