काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये ४१ हजार ९४६ जना महिला र ६७ हजार ६९० जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए ।
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा-नौबिसे सडकखण्ड, मुग्लिन-नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।
दसैँ मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेका बेला मुख्य सडकमा यातायात सञ्चालन भइरहेकाले यात्रुलाई आफ्नो गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, मुख्य नाकामा सवारीसाधनको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने भएकाले यात्रुले यात्राको योजना बनाउँदा पर्याप्त समय छुट्याउनु उपयुक्त हुने नेपाल यातायात राष्ट्रिय व्ययसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए ।