साढे तीन करोडको क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगर ३२ बस्ने बिक्कीकुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनलाई माइतीघरबाट पक्राउ गरेको हो । उनले ‘वान एक्स’ एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) गर्ने तथा युएसडिटीलगायत अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

महतोले हालसम्म तीन करोड ३८ लाख आठ हजार ३५० बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

प्रहरीले महतोको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ । आरोपी महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार