सबैभन्दा धेरै नम्बर पाउँदै कार्यसम्पादन भरतपुर उत्कृष्ट, काठमाडौंको अवस्था कस्तो ?

0 Shares

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्यांकनमा भरतपुर महानगर पहिलो भएको थियो ।

आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्यांकन गरेको छ ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे-नगरेको, राजस्वको विभाजन गरे÷नगरेको लगायतका सूचकमा मूल्यांकन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।

असार १० भित्र बजेट ल्याए-नल्याएको, असार ३० भित्र बजेट पास गरे-नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए-नदिएकोलगायत आधारमा मूल्यांकन गरिन्छ ।

आयोग संवैधानिक निकाय हो । संघीयतामा संघ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्ट रुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्यांकन गर्ने गर्छ ।

आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको अर्यालले बताए ।

काठमाडौं महानगरले ३९ दशमलव ०२, वीरगञ्ज महानगरले ३३ दशमलव ४९, विराटनगर महानगरले ३२ दशमलव ८५, ललितपुर महानगरले २५ दशमलव १८ र पोखरा महानगरले २० दशमलव ७४ प्रतिशत अंक पाएका छन् ।

जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरे । महानगरले नेपाल सरकारले गर्ने मूल्यांकनमा सधैँ उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ । देशका ७५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्यौटलगायत विषयमा सधैँ उकृष्ट बन्दै आइरहेको छ ।

सम्बन्धित समाचार