काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्र संघमा गरेको सम्बोधन जोडदार लागेको बताएका छन्।
प्रधानमन्त्री शाहले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभामा नेपाली समयअनुसार आज बिहान ५:४५ बजे सम्बोधन गरेका थिए।
त्यसको प्रशंसा गर्दै एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले- मैले खुसी मनले समर्थन गरेँ।’
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असर, दीर्घकालीन प्रभाव र त्यसलाई न्यूनीकरण गर्न विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका छन्।
शुक्रबार बिहान सम्बोधनको सुरुमै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको देशबाट मानवजातिले छिट्टै भोग्नुपर्ने गम्भीर चेतावनी लिएर आएको भन्दै संयुक्त राष्ट्र संघमा असाधारण स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको बताए।
‘म चाहन्थेँ कि आज म यहाँ केवल विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकांक्षाबारे कुरा गर्न उभिन सकूँ। तर यसको सट्टा, मैले विशाल स्तरको मृत्यु र विनाशबारे बोल्नुपर्ने भएको छ,’ बालेनले अगाडि भने, ‘ती परिवारहरूबारे, जो आफ्ना प्रियजनको प्रतीक्षामा छन्, तर उनीहरू अब कहिल्यै घर फर्कने छैनन्। ती समुदायहरूबारे, जो हिलो, ढुंगा र पानीभित्र आफ्ना मानिसहरू खोजिरहेका छन्, जसका शवहरू सायद अब कहिल्यै फेला पर्ने छैनन्।’