सडक खन्दा विस्फोटक पदार्थ पड्किँदा चार जना घाइते

0 Shares

काठमाडौं । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा बुधबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोट भएको हो ।

विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनले भने, “एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो ।” घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्नसक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै कामदार रहेको बताइएको छ । विस्फोट पदार्थ द्वन्द्व कालमा विद्रोही पक्षले राखेको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार