काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २ सय ६७ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ बजेसम्मको विवरणअनुसार उक्त रकम मौज्दात रहेको हो।
कोषमा रहेको रकममध्ये विभिन्न ९ वटा बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ।
त्यस्तै, कोषका दुईवटा बैंक खातामा रहेको अमेरिकी डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा रहेको कार्यालयले जनाएको छ।
केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको हो।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउँदै आएको छ।