साउनमा ५४ करोड नाघ्यो निर्जीवन बीमा व्यवसाय, हिमालयन एभरेष्ट अगाडि

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ५४ करोड १ लाख ५२ हजार रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले कुल २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरेका छन् ।

परम्परागत १४ बीमा कम्पनीले २ लाख २९ हजार ५९९ बीमालेखमार्फत ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, चार लघु निर्जीवन बीमा कम्पनीले २५ हजार ८ वटा बीमालेख जारी गरी ७३ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

हिमालयन एभरेष्टको व्यवसाय सबैभन्दा धेरै

कम्पनीगत रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स साउनमा सबैभन्दा अगाडि रहेको छ । कम्पनीले २७ हजार ८७१ बीमालेख जारी गर्दै ५ करोड ६२ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले ३ करोड ८० लाख ८५ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले ३ करोड ३२ लाख ३४ हजार, नेशनल इन्स्योरेन्सले २ करोड ७० लाख २३ हजार र नेपाल इन्स्योरेन्सले २ करोड ५२ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

 

सानिमा जिआईसी इन्स्योरेन्सले २ करोड ४० लाख ३१ हजार, राष्ट्रिय बीमा कम्पनीले १ करोड ९० लाख २२ हजार र प्रभु इन्स्योरेन्सले १ करोड ४० लाख ६८ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

समग्र तथ्यांकले निर्जीवन बीमा बजारमा परम्परागत बीमा कम्पनीहरूको वर्चस्व कायमै रहेको देखाएको छ । लघु निर्जीवन बीमा कम्पनीहरू भने व्यवसाय विस्तारको प्रारम्भिक चरणमा छन् ।

सम्बन्धित समाचार