कुमारी बैंक PCAF मा आबद्ध, कर्जा–लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

0 Shares

काठमाडौँ। कुमारी बैंक लिमिटेड वित्तीय क्षेत्रको कार्बन उत्सर्जनसम्बन्धी विश्वव्यापी पहल पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ।

पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्ने जनाएको छ। त्यसका लागि पीसीएएफले विकास गरेका विश्वव्यापी रूपमा मान्य मापदण्ड तथा विधि प्रयोग गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार यस पहलले कर्जा तथा लगानीसँग सम्बन्धित जलवायु प्रभाव पहिचान गर्न, जलवायु जोखिम व्यवस्थापन गर्न तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने छ।

पीसीएएफमा आबद्ध भएपछि बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता विकास गर्ने र त्यसबाट प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी योजनामा उपयोग गर्ने जनाएको छ।

कुमारी बैंकका स्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कदम भएको बताए। ‘पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा हो। हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझेर जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न यसले सहयोग गर्छ,’ उनले भने।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो। यसले वित्तीय संस्थालाई कर्जा तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जन मापन र सार्वजनिक गर्न साझा मापदण्ड उपलब्ध गराउँछ।

पीसीएएफमा आबद्ध वित्तीय संस्थाले वित्तीय क्षेत्रका लागि तयार गरिएको ग्लोबल जीएचजी अकाउन्टिङ एन्ड रिपोर्टिङ स्ट्यान्डर्ड प्रयोग गरी कर्जा तथा लगानीबाट सम्बन्धित उत्सर्जनको मापन तथा खुलासा गर्ने गर्छन्।

कुमारी बैंकले पीसीएएफको सदस्यतासँगै दिगो वित्तका अवसर विस्तार गर्ने, बैंकको सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।

बैंकले नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने पनि जनाएको छ।

कुमारी बैंकका अनुसार बैंकका देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९६ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ र १ हजार २ सय ३३ पीओएस टर्मिनल छन्। बैंकले डिजिटल तथा मोबाइल बैंकिङसहित विभिन्न बैंकिङ सेवा दिँदै आएको छ। पीसीएएफको पहलमा आबद्ध वित्तीय संस्थाको संख्या ७ सयभन्दा बढी पुगेको बैंकले जनाएको छ।

सम्बन्धित समाचार