काठमाडौं । लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट प्रकाशित विज्ञापनप्रति संवैधानिक आयोगले संयुक्त रुपमा पूर्णतः असहमति जनाएका छन् ।
राष्ट्रिय मुस्लिम आयोग, थारु आयोग, आदिवासी जनजाति आयोगलगायत संवैधानिक आयोगले पत्रकार सम्मेलन गर्दै उक्त विज्ञापनले संवैधानिक तथा कानूनी व्यवस्थाविपरीत र समानुपातिक समावेशीताको गम्भीर उल्लंघन भएको बताएका छन् ।
संवैधानिक आयोगले पूर्णतः असहमत रहेको जनाउँदै उक्त विज्ञापन रद्द गरी कानून सम्मत ढंगले पुनः विज्ञापन आह्वान गर्नका लागि लुम्बिनी प्रदेश लोक सेवा आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
सोही सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले लुम्बिनी प्रदेश लोकसेवा आयोगको विज्ञापनले समावेशी समूहलाई पूर्णतः इन्कार गर्दै संवैधानिक व्यवस्थाविपरीत रहेको बताए ।
प्रदेश लोक सेवा आयोगबाट गत माघ २६ गते प्रकाशित स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका (प्राविधिक) पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन र यही फागुन ३ गते प्रकाशित उक्त पदकै लागि संशोधित विज्ञापनमाथि राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले उक्त विज्ञापनप्रति संयुक्त रुपमा लुम्बिनी प्रदेश लोकसेवा आयोगको ध्यानाकर्षण गराएका हुन् ।