नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी

0 Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’मा लगानी गर्ने भएको छ ।

इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहरूका लागि नेपालमै निर्माण भइरहेको यो मौलिक चलचित्रमा लगानीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई सहयोग पुर्‍याउने एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ ।

इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सहनिर्माण गर्न स्थापित लस्ट इन मण्डला एलएलसीसँग मिलेर यस परियोजनामा काम गरिरहेको छ । प्रस्तावित कारोबार सम्झौताअन्तर्गत एनआइबिएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग १० करोडसम्म लगानी गर्ने योजना बनाएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ । उनले आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको र यो साझेदारीले त्यसैलाई जोड दिएको बताए । साथै, चलचित्र ‘लस्ट इन मण्डला’ एक महत्वाकांक्षी र मौलिक परियोजना रहेकाले निर्माणमा देशभित्रैबाट हुने स्थानीय सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यसअघि पनि कम्पनीले ‘लस्ट इन मण्डला’लाई सहयोग गरेको एनआइएमबि एस क्यापिटलले जनाएको छ । जसअन्तर्गत क्यापिटलले यो परियोजनाको लागि कोष संकलनका पहलहरूमा साथ दिएको थियो । क्युएफएक्समा एक विशेष समारोह आयोजना गर्दै आमन्त्रित सहभागी तथा लगानीकर्ताहरूलाई ‘लस्ट इन मण्डला’ औपचारिक रूपमा प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ ।

‘लस्ट इन मण्डला’ एउटा एनिमेटेड फेन्टासि एड्भेन्चर चलचित्र हो । जसको सिर्जना र निर्देशन किरण भक्त जोशीले गरेका छन् । चलचित्रकी निर्माता भने दीपा चिपालु जोशी हुन् । यो चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्पराहरू, पौराणिक कथाहरू र मनमोहक प्राकृतिक दृश्यहरूबाट प्रेरित छ ।

नेपालका कथाहरूलाई विश्वसामु देखाउने दृष्टिकोणका साथ बनाइएको यस चलचित्रले विश्वस्तरीय एनिमेसन माध्यममा अपनत्व, मित्रता, करुणा र आत्म अन्वेषणका विषयवस्तुहरूलाई उजागर गर्दछ । चलचित्रको पटकथा, ‘थोर’, ‘एक्सऔमेनः फस्र्ट क्लास’, नेटफ्लिक्सको ‘जुरासिक वल्र्डः क्याम्प क्रेटासियस’ आदिमा काम गरिसकेका विख्यात पटकथा–लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन् । यस साझेदारीसँगै, एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र ‘लस्ट इन मण्डला’ को निर्माणमा निरन्तर सहयोग गर्ने र विश्वभरका दर्शकमाझ पुर्‍याउने सहयोग गर्ने लक्ष्य राखेका छन् ।

सम्बन्धित समाचार