काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्त नलीसम्बन्धी रोगको रोकथामबारे सचेतना मूलक वेबिनार आयोजना गरेको छ ।
बैंकले मेदान्ता-द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय तथा रक्त नलीसम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्वबारे सही र आवश्यक जानकारी प्रदान गरेका हुन् । मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ ।
उक्त वेबिनार ‘मुटु तथा रक्त नलीसम्बन्धी रोगहरूको रोकथाम’ विषयमा गत मंगलबार आयोजना गरिएको हो । कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीहरूलाई लक्षित गरिएको थियो । सो सत्रमा मेदान्ता-द मेडिसिटी अस्पताल, भारतका कार्डियसी केयरअन्तर्गत चिकित्सकीय तथा रोकथाममूलक मुटुरोग विज्ञानका उपाध्यक्ष डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रमका क्रममा हृदय तथा रक्त नलीसम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, रोगबाट बच्ने उपायहरू, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।
साथै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली मार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो । उक्त सचेतना मूलक अनलाइन सत्रमा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए ।
कर्मचारीहरूको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको थियो ।
सिटिजन्स बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत यस्ता सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । यसैगरी बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्डवाहक ग्राहकलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गरिएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।