काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
‘Everest Year -Clouds and Beyond’मूल नाराका साथ आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक श्री विमल प्रसाद ढकाल, सञ्चालक श्री प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभ उद्घाटन गरेका थिए ।
सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै, आर्थिक वर्ष २०८२र८३ मा कम्पनीले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिए । उनले यसलाई अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भनी उल्लेख गर्दै आ.ब.२०८३/८४ का लागि ‘Everest Year -Clouds and Beyond’अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गरे ।
सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानहरूको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई आग्रह गरे, र कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको औँल्याए ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गरे। उनले आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग, ग्राहकमैत्री डिजिटल सेवा, डाटाआधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालन मार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना सार्वजनिक गरे । प्रविधिसँगै दक्ष जनशक्ति र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाई सशक्त, आधुनिक र ग्राहक केन्द्रित संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै, उत्कृष्ट व्यावसायिक उपलब्धिका आधारमा नेपालभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरियो।
यस कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भए। सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने थप उत्साह र प्रतिबद्धता व्यक्त गरे।