कृष्णभीरमा सडक भासिएपछि सडक अवरुद्ध, यो वैकल्पिक मार्ग जान सकिने

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।

त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार ठूला सवारीसाधन काठमाडौं बाइरोड-नौबिसे-पालुङ-भैँसे हुँदै गन्तव्यतर्फ जान सक्ने छन् । साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनले भने, ‘कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ, हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ, अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ ।’

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

यसैबीच, सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ ।

सम्बन्धित समाचार