भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन : ओली

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्।

आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए। यसअघि त्रिशूलीमा समेत यस्तो क्षति नदेखिएको उल्लेख गर्दै उनले बाढीबाट ठूलो जनधनको क्षति भएको बताए।

‘जनको क्षति अपूरणीय हुन्छ। धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ। तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने।

बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको उनले बताए। अहिलेको विपत्ति राष्ट्रिय शोक र पीडाको समय भएकाले यसलाई राजनीतीकरण गर्न नहुने ओलीको भनाइ छ।

‘यो साझा पीडा हो, साझा शोकको बेला हो। यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ उनले भने।

विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने ओलीले बताए।

सम्बन्धित समाचार