नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख आर्थिक सहयोग पठाउने

0 Shares

काठमाडौं । मिति २०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल गहिरो दुःख व्यक्त गर्दछ ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिने छ । उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा हामी दृढतापूर्वक विश्वास गर्छौं । नाडा सधैं सरकारको पक्षमा, सरकारसँगै उभिने संस्था रहिआएको छ, र यस विपद्मा पनि त्यही प्रतिबद्धता दोहोर्‍याउँदछ । त्यसैले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्‍याउन हार्दिक आह्वान गर्दछौं ।

विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडा हार्दिक कृतज्ञता व्यक्त गर्दछ । विशेष गरी,सम्मानिय प्रधानमन्त्री बालेन्द्र शाह,माननिय गृहमन्त्री सुदन गुरुङले प्रभावित जिल्लाहरूका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गरेको, उद्धार तथा राहत उडानहरूको समन्वय व्यक्तिगत रूपमा गरिरहेको, र विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको भन्दै निजी क्षेत्रलाई समेत यस कार्यमा साथ दिन गर्नुभएको आह्वानप्रति नाडा उच्च कदर गर्दछ । गृहमन्त्रीको यही आह्वानअनुरूप नाडा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहनेछ । नाडा देशको आर्थिक संरचनालाई सशक्त बनाउन र त्यसको निरन्तरतामा विश्वास राख्दछ, र यो विश्वासअनुरूप मुलुक र यहाँका नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।

नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १० लाख (दश लाख रुपैयाँ) आर्थिक सहयोग पठाउने निर्णय लिएको यहाँहरूमा जानकारी गराउँदछौं ।

विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास नाडाको छ । यसमा जुट्न सबैमा हार्दिक अपिल गर्दछौं । साथै, यो महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको हो ।

आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जानकारी गराउँदछौं । आउनुहोस्, यो विपद्को सामना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गरौं । आर्थिक गतिविधिलाई सँगसँगै चलायमान बनाऔं ।

सम्बन्धित समाचार