उद्धार कार्यबारे प्रधानमन्त्रीको ब्रिफिङ : ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी संकलन हुँदैछ

0 Shares

काठमाडौं ।  बुधबारको बाढीले रसुवा तथा नुवाकोटमा विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याएपछि धेरै स्थानमा बिजुली नहुँदा मोबाइल सेवा अवरुद्ध छ। जसका कारण उद्धारमा समेत कठिनाई भइरहेको छ। सञ्चार सम्पर्क टुट्दा बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको अवस्था अज्ञात छ।

उनीहरूसँग परिवारको सम्पर्क हुन नसक्दा बेचौनी छ। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले बाढी प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट सञ्चार सम्पर्क स्थापित गर्न खोजेको छ।

सञ्चार उपकरणहरू हेलिकप्टरमार्फत प्रभावित क्षेत्र पठाउने तयारी छ। बाढीका कारण नेपाल टेलिकमको रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको थियो भने एनसेलको फाइबर नै बाढीले चुँडाइदिएको छ। टेलिकम र एनसेलका प्राविधिकहरू प्रभावित क्षेत्रमा पुगेर सञ्चार सम्पर्क स्थापित गराउन प्रयासरत छन्। तर, धेरै ठाउँमा बिजुली नहुँदा सञ्चार सम्पर्क स्थापित गराउन कठिनाइ परिरहेको छ।

प्रधानमन्त्री बालेनले प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर पुर्याउने जानकारी दिएका छन्।

‘छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

हेर्नुहोस् प्रधानमन्त्रीको भनाइ

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको छ। सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ।
आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। बिहानदेखि यति बेलासम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।
अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्‍याइँदैछ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।
आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

सम्बन्धित समाचार