म शून्यमा आउट हुनु निराशाजनक, टोलीको हारमा जिम्मेवारी लिन्छु : रोहित पौडेल

0 Shares

काठमाडौं । आईसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हारसँगै नेपालका कप्तान रोहित पौडेलले आफ्नो कारण टिमले हार्न पुगेको बताएका छन् । पौडेलले टोलीले ब्याटिङमा राम्रो सुरुवात गरे पनि हार ब्योहर्नु परेको बताएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको थियो । यसअघि पनि नामिबियासँग नेपालले हार बेहोर्नु परेको थियो । आजको खेल सकिएपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफू शून्य रनमै आउट हुन निराशाजनक भएको बताए ।

‘म शून्यमा आउट हुनु नै निराशाजनक थियो, त्यसको जिम्मेवारी म लिन्छु, नेपालबाट सोचे जस्तो सुरुवात भयो, पावर प्लेमा राम्रो विकेट लिएका थियौँ,’ उनले थपे, ‘तर मेरो र दीपेन्द्र दाइको विकेटले टोलीलाई दबाब भयो, हामीले २०० देखि २५० रन बनाउँछाैँ भन्ने थियो, तर भएन ।’

उनले क्रिकेट खेलमा अनुमान गर्न नसकिने बताउँदै आफूहरूले जित्ने अपेक्षा गरेको बताए । ‘नामिबियाले पनि मिहिनेत गरेको छ, हाम्रा बलरहरूले शतप्रतिशत दिएका छन्, तर ब्याटिङमा केही कमजोरी भयो,’ उनले भने ।

सम्बन्धित समाचार