काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको लगानीमा रहेको वाइवाइ चाउचाउले टी २० विश्वकप खेल्न गएका नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ ।
जसअनुसार जारी विश्वकपको सुपर ८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टोलीलाई वाइवाइ चाउचाउले नगद ३० लाख रूपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ ।
साथै वाइवाइले जारी विश्वकपमा नेपालको जीतलाई अगाडि बढाउन खेलाडीहरूका लागि पनि पुरस्कारको घोषणा गरेको छ । जसमा प्रत्येक रन बनाएवापत १ हजार, चौकावापत ८ हजार, छक्कावापत १२ हजार, प्रत्येक विकेटवापत १५ हजार, अर्धशतकवापत ५० हजार, शतकवापत १ लाख र नेपाली टिमको टोलीको जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने छ ।
नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा पुरस्कारहरू घोषणा गरिएको सीजी फुड्सले जनाएको छ । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू १९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।
दोस्रो पटक टी २० विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दै छ । त्यस्तै, टेष्ट मान्यता प्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।