अटो बीमा दाबीमा समस्या हुने भाष्य गलत, प्रमाण र प्रक्रिया बुझ्दा सहज हुन्छ : एनएलजी सीईओ पन्त

0 Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमाको दाबी गर्दा समस्या हुने भन्ने भाष्य बने पनि वास्तविकता त्यस्तो नरहेको बताएका छन्।

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै पन्तले बीमा दाबीका आधारभूत सिद्धान्त र प्रक्रिया बुझ्न सके दाबी गर्न सहज हुने बताए।

उनका अनुसार बीमा दाबी निष्पक्ष र पारदर्शी ढंगले बीमा कानुनअनुसार फर्स्योट गर्नुपर्ने हुन्छ। क्षतिको सही विवरण र त्यसलाई प्रमाणित गर्ने आवश्यक कागजात उपलब्ध गराएमा दाबी भुक्तानी प्रक्रिया सहज हुने उनले बताए।

“अहिले यो कुरा परिपक्व भइसकेको छ। बीमा प्राधिकरणले पनि कसरी छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ,” पन्तले भने।

उनले बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी सेवाग्राहीले सहज रूपमा पाउने व्यवस्था गर्नुपर्ने बताए। त्यसका लागि दाबीको अवस्थालाई ड्यासबोर्डमा राख्नुपर्ने उनको भनाइ छ।

पन्तले सवारीसाधन र मोबाइलबाहेक घरायसी सामग्रीको बीमा भने अपेक्षाकृत कम रहेको बताए। घरायसी सामग्रीमा जोखिम पर्याप्त नदेखिएकाले त्यस्ता वस्तुको बीमा विस्तार हुन नसकेको उनको भनाइ छ।

उनले विद्युतीय सवारीसाधन (ईभी)को बीमामा ब्याट्रीको ह्रासकट्टी (डिप्रिसिएसन) सम्बन्धमा पनि स्पष्टता आवश्यक रहेको बताए। उनका अनुसार ईभीको ब्याट्रीमा बीमाले ५० प्रतिशतसम्म मात्र डिप्रिसिएसन कट्टा गर्ने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार