काठमाडौं । औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि सञ्चालनमा आएको छैन । सडक विभागले भने सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई। शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
उनले भने, ‘अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ । अब सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण हुँदैछ ।’
उनका अनुसार सुरुङभित्र कुनै आपतकालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण गरिनेछ । विशेषगरी बसमा ठूलो संख्यामा यात्रु सवार रहेका बेला आगलागी भएमा उनीहरूको उद्धार कसरी गर्ने भन्ने अभ्यास परीक्षणको मुख्य विषय रहेको उनले बताए ।
सुरुङमार्गमा अहिले ब्यारिकेड तथा ड्रम राखिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । ती सामग्री सुरक्षा परीक्षण तथा तयारीका क्रममा राखिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।