काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।
टिपरको ठक्करबाट गम्भीर घाइते तुलसीपुर–११ कटाहाकी स्कुटर चालक २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए।
गम्भीर घाइते उनलाई उद्धार गरी तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले साढे १ बजेपछि उनलाई मृत घोषणा गरेका थिए।
डिएसपी पराजुलीका अनुसार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजारबाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोकतर्फ तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने रा १ ग २२ गाडी (टिपर) र केसी सवार रा ४ प ७९४५ नम्बरको स्कुटर एकै दिशामा गइरहेका थिए। त्यही क्रममा केसी सवार स्कुटीलाई दक्षिणबाट उत्तर बजारतर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि सन्तुलन गुमाउँदै स्कुटर चालक केसी सडकमै लडन् पुगिन्। त्यही क्रममा सँगसँगै एकै दिशातर्फ जाँदै गरेको तुलसीपुर उपमहानगरको फोहोर बोक्ने गाडीलाई सडकमै लडेकी केसीलाई ठक्कर दिएको थियो।