धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

0 Shares

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रसरतामा आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गरेका हुन् ।

उनीहरूले सदीयौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन अपिल गरे । स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गरेका हुन् ।

संयुक्त अपिलमा विश्व हिन्दू महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासङ्घका सचिवालय सदस्य राजुराज फुयाँल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन् ।

‘सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु हो, कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो,’ संयुक्त अपिलमा भनिएको छ ।

उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडितपरिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे ।

सम्बन्धित समाचार