काठमाडौं । राहदानी छपाइमा अनियमितता गरेको भन्दै विशेष अदालतमा १० अर्ब बिगो दाबी गर्दै मुद्दा दायर भएको सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
उनीविरुद्ध प्रहरीले गैरकानुनी लाभ गरेको भन्दै १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेको थियो । तर, विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो । उनी आफैँ अदालतमा पुगेका थिए ।
असार २ गते राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालसँगै उनी पनि पक्राउ सूचीमा थिए । यस क्रममा उनी छोरीको जन्मदिन मनाउन भन्दै विदेश पुगेका थिए । उनी राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेण्ट हुन् ।
उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन् ।