काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । विगत केही दिनदेखि सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै सरकारको धारणा राखेका हुन् ।
सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री (बालेन्द्र शाह) ज्यूले पर्याप्त पहल लिइरहेको उनको दाबी थियो । उनले भने, ‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ ।’
सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको उनले राजनीतिक दलको नेतृत्वलाई जानकारी गराएका थिए ।