कर्फ्युपछि शान्त सुनसरी

0 Shares

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको झडप र जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेसँगै आज बिहान सुनसरीको अवस्था शान्त छ ।

राति अबेरसम्म झडप र तोडफोड भए पनि बिहान भने प्रदर्शन रोकिएको छ ।

सुनसरीको दक्षिणी क्षेत्रहरुमा सेनाले गस्ती शुरु गरेपछि अवस्था सामान्य देखिएको हो । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवस्था नियन्त्रणमा लिएका छन् । हिजो दिनभर सुनसरीका विभिन्न स्थानमा झडप भएको थियो । आगजनी र तोडफोड हुँदा निजी सम्पत्ति पनि नष्ट भएको छ ।

​गएराति देवानगन्ज क्षेत्रमा दुई समूह बीच झडप भएको थियो। आगजनी र भौतिक क्षतिको विवरण कसैसँग पनि छैन । सामाजिक सञ्जालमा धारिलो हतियार प्रहार भएका भ्रामक तस्बिर शेयर भइरहेकाले त्यस्ता अफवाहको पछि नलाग्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ। कर्फ्युसँगै बिहानदेखि सुनसरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ।

स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रहरूमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको बताए ।

​प्रशासनले इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ), रामधुनी नगरपालिका (वडा नं. १ र ५ को महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ) तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यु जारी भएको छ ।

सम्बन्धित समाचार