काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासीन बनेको भन्दै सङ्घले दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको हो ।
सङ्घको आन्दोलनका कारण देशभरका अस्पतालहरूमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् । यद्यपि आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ।
काठमाडौँका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। विशेषगरी शिक्षण अस्पताल र वीर अस्पतालमा सेवा लिन आउने बिरामीहरूको भीड देखिएको छ ।
नियमित सेवा बन्द हुँदा उपचारका लागि आएका धेरै बिरामी निराश भएर फर्किन बाध्य भएका छन् भने केही बिरामी आकस्मिक सेवा वा वैकल्पिक अस्पतालको खोजीमा पुगेका छन्।
नेपाल चिकित्सक सङ्घले दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलनका कार्यक्रमलाई थप कडा बनाउन सकिने चेतावनी दिएको छ ।
उता, बिरामी तथा सर्वसाधारणले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको भन्दै सरकारले चिकित्सकहरूको जायज माग सम्बोधन गरी स्वास्थ्य सेवा यथाशीघ्र सहज बनाउनुपर्ने माग गरेका छन्।