नेपाली बजारमा आयो प्रोटोन ‘इमास फाइभ’ इलेक्ट्रीक ह्याचब्याक, कति छ मूल्य ?

0 Shares

काठमाडौँ । मलेसियन अटोमोबाइल ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक ‘इमास फाइभ’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबारदेखि यसको बिक्री-वितरण खुला गरेको हो ।

कम्पनीले यस गाडीलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ, जसअन्तर्गत ‘प्राइम’ भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र ‘प्रिमियम’ भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै रिब्याचिङ गरेर प्रोटोनले इमास फाइभ तयार पारेको हो ।

प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर (१३० न्युटन मिटर टर्क) र ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ, जसले एकपटकको फुलचार्जमा २२५ किलोमिटरसम्मको रेन्ज दिन्छ । त्यसैगरी, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर (१५० न्युटन मिटर टर्क) र ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री राखिएको छ, जसले ३२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

रियर ह्वील ड्राइभ सिस्टम रहेको यस कारको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम छ भने सहरी क्षेत्रमा मोड्न सहज होस् भन्नका लागि यसको टर्निङ रेडियस ४.९५ मिटर मात्र राखिएको छ ।

इन्टेरियरतर्फ ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, भेरियन्ट अनुसार १०.१ वा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, मल्टिफंशनल स्टेरिङ ह्वील, ५० वाटको वायरलेस चार्जर, हाइकार कनेक्सन, किलेस इन्ट्री तथा २५६ कलर एम्बियन्ट लाइट उपलब्ध गराइएको छ । त्यसैगरी सुरक्षाका दृष्टिकोणले यस कारमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास (ADAS) फिचरहरू समावेश गरिएका छन् ।

सम्बन्धित समाचार