काठमाडौं । संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।
सरकारले गत चैत १६ गते उक्त कार्यदल गठन गरेको थियो । त्यसअघि चैत १३ गते सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने’ भनिएको थियो ।
सोही विषयमा छलफल गर्न भन्दै सरकारले प्रधानमन्त्री बालेनका सल्लाहकार शाहको नेतृत्वमो ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गरेको थियो ।कार्यदलले चैत २५ गतेदेखि काम सुरु गरेर दोस्रो पटक थपिएको म्याद भित्र बिहीबार आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाएको जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सहित राप्रपा, लोसपा, जसपा, राष्ट्रिय जनमोर्चाले बहिस्कार गरेका थिए । यस्तै नेकपा एमालेले कार्यदललाई सुझाव दिने निर्णय गरे पनि अन्तिममा फिर्ता लिएको थियो । नेपाली कांग्रेसले कार्यदललाई कुनै सुझाव दिएन ।