काठमाडौ । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध भई सेवा प्रदान गर्ने चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।
विभागले एक सूचना जारी गर्दै राइड सेयरिङ अपरेटरको प्लेटफर्ममा आबद्ध हुने सम्पूर्ण व्यक्तिहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्न गराउन भनेको छ।
आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ अनुसार निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकिएको वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी अगावै स्थायी लेखा नम्बर लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।
सोही कानुनी व्यवस्थाको परिधिमा रहेर राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिनेहरूलाई पनि यो दायरामा ल्याइएको हो। सरोकारवाला सबैको जानकारीका लागि आन्तरिक राजस्व विभागले यो सूचना जारी गरेको छ।
