निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन तथा परिमार्जन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई यस्तो निर्देशन जारी गरेको हो।

संशोधित निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, निष्क्रिय भएका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्नेछ।

राष्ट्र बैंकले ग्राहकले आफ्नो खाता नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। ग्राहकले शाखामा उपस्थित भएर वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको मौज्दात ग्राहकले तोकेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, ग्राहकको पहिचान सुनिश्चित गरी नेपालभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न प्रभावकारी प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

सम्बन्धित समाचार