कानुन राज्यको शक्ति हो, तर त्यसको आत्मा मानवता हो। नियम उल्लङ्घन गर्नेले कानुनअनुसार सजाय पाउनुपर्छ, तर त्यो प्रक्रियाले कसैको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना गर्नु हुँदैन। कानुनको कठोरता आवश्यक छ, अमानवीयता होइन।
यति मात्र होइन, सडकमा खटिने ट्राफिक प्रहरी र सुरक्षाकर्मीलाई शिष्ट व्यवहार र संवादको संस्कार पनि उत्तिकै आवश्यक छ। “कहाँ जान्छस्, जा! जे गर्छस् गर!” जस्ता अभिव्यक्तिहरू धेरै नागरिकका लागि नयाँ अनुभव होइनन्। सबै ट्राफिक यस्ता छैनन्, तर केहीको व्यवहारले सम्पूर्ण संगठनमाथि प्रश्न उठ्ने अवस्था अवश्य सिर्जना हुन्छ। बर्दीले अधिकार दिन्छ, तर त्यो अधिकारसँग संयमता, धैर्य र सम्मानको दायित्व पनि आउँछ।
एक समय महानगर प्रहरीमध्ये आफूलाई प्रधानमन्त्री वा मेयरभन्दा पनि शक्तिशाली ठान्ने मानसिकता देखिन्थ्यो। आज पनि त्यस्ता प्रवृत्ति पूर्ण रूपमा हराइसकेका छन् भन्न सकिँदैन। दिनभर घाम, धुलो, वर्षा र जामबीच काम गर्दा ट्राफिक प्रहरीले ठूलो मानसिक दबाब र तनाव सहनुपर्छ भन्ने यथार्थ हो। तर आफ्नो थकान वा आक्रोश निर्दोष नागरिकमाथि पोख्ने अधिकार कसैलाई छैन।
अर्कोतर्फ, नागरिक पनि आत्मसमीक्षा गर्न तयार हुनुपर्छ। “मैले भाडा तिरेको छु, गाडी मेरै अगाडि आएर रोक्नुपर्छ” भन्ने हठ त्याग्नुपर्छ। हामीले सेवा मागेका हौँ, कसैलाई आफ्नो व्यक्तिगत नोकर बनाएका होइनौँ। सेवा शुल्क तिरेको भरमा चालकलाई नियम तोड्न बाध्य पार्नु उचित होइन, किनकि त्यसको कानुनी र आर्थिक जिम्मेवारी अन्ततः उसैले बेहोर्नुपर्छ।
सत्य के हो भने समस्या एकतर्फी छैन। हामीमध्ये कसैलाई पैसा तिरेपछि सबै जायज हुन्छ भन्ने भ्रम छ। कसैलाई बर्दी लगाएकै भरमा आफू कानुनभन्दा माथि छु भन्ने दम्भ छ। कसैलाई बाहिरी प्रदर्शन वा शक्ति देखाएर सबैलाई झुकाउन सकिन्छ भन्ने गलत विश्वास छ।
यही भ्रम, दम्भ र अहङ्कारको टकरावले सामान्य देखिने घटनाहरू कहिलेकाहीँ अत्यन्त दुःखद मोडमा पुग्छन्। त्यसपछि दोषी खोज्ने होड चल्छ, तर गुमेको जीवन भने फर्केर आउँदैन।
त्यसैले दोषारोपणभन्दा पहिले आत्मसमीक्षा गरौँ। अधिकारको प्रयोग विवेकका साथ गरौँ, कर्तव्य इमानदारीका साथ निभाऔँ, र एकअर्कालाई सम्मान गर्न सिकौँ। सभ्य समाज कानुनले मात्र बन्दैन, कानुन लागू गर्ने र पालना गर्ने दुवै पक्षको संस्कारले बन्छ।
हामी सबै जिम्मेवार बनौँ। किनकि कहिलेकाहीँ एक क्षणको आवेग, एक कठोर शब्द वा एक सानो अहङ्कारले जीवनभर नमेटिने पीडा छोडेर जान सक्छ।