काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले जित निकालेको हो ।
दुई गोलले पछि परेको अर्जेन्टिनाले शानदार कमब्याक गर्दै जित निकालेको हो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र ६७ औंँ मिनेटमा मोस्तफा जिकोले गोल गर्दा इजिप्टले २-० ले अग्रता लिएको थियो ।
खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो र ८३औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई २-२ को बराबरीमा ल्याए । योसँगै जारी खेलमा मेस्सी गोल्डेन बुटको दाबेदारमा थप बलियो बनेका छन् । यो खेलमा उनको गोल संख्या ८ पुगेको छ । विश्वकपमा उनले कूल २१ गोल बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को जित दिलाए । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड वा कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।