काठमाडौँ । विश्वप्रसिद्ध जर्मन घरेलु विद्युतीय उपकरण ब्रान्ड बोशले नेपालमा आफ्नो पहिलो ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूहसँगको सहकार्यमा ललितपुरको जावलाखेलमा उक्त स्टोर सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीले दक्षिण एशियामा आफ्नो विस्तार योजनाअन्तर्गत नेपालमा प्रत्यक्ष उपस्थिति बलियो बनाउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याएको हो। नयाँ स्टोरमार्फत उपभोक्ताले फ्रिज, कपडा धुने मेसिन, भाँडा धुने मेसिन, खाना तयारीसम्बन्धी उपकरण तथा आधुनिक भान्सा समाधानलगायतका प्रिमियम घरेलु उपकरणहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
कम्पनीका अनुसार नेपालमा बढ्दो सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन तथा उच्चस्तरीय घरेलु उपकरणप्रतिको आकर्षणलाई मध्यनजर गर्दै आफ्नो उपस्थिति विस्तार गरिएको हो। बोशले विश्वस्तरीय जर्मन प्रविधि, नवीन सोच र उच्च गुणस्तरका उपकरणमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपाल उच्चस्तरीय घरेलु उपकरण क्षेत्रका लागि सम्भावनायुक्त बजार रहेको बताउँदै लक्ष्मी समूहसँगको सहकार्यलाई अझ मजबुत बनाउन पाउँदा खुसी लागेको बताए।
उनले दैनिक जीवनलाई अझ सहज, प्रभावकारी र सुविधाजनक बनाउने समाधानहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।
बोश विश्वभर भाँडा धुने मेसिन, अगाडिबाट कपडा हालेर धुने मेसिन तथा आधुनिक भान्सा समाधानका क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा परिचित छ।