काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्। आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
‘रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ यसलाई नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्छ’, सुझाव दिँदै भट्टराईले रास्वपालाई जनताले दिएको मत सुशासन र समृद्धिकै लागि भएको बताए ।
जनताको मत पाएको रास्वपा सत्य र न्यायको पक्षमा उभिनेछ आशा व्यक्त गर्दै भट्टराईले भने, ‘मैले वैकल्पिक राजनीतिको पैरवी गरेँ, त्यही पैरवी रास्वपालाई उपलब्धि ठानेको छु ।’ उनले ‘चुपचाप घण्टी छाप’को चुनावी नारालाई सुशासन र विकासमा परिवर्तन हुने अपेक्षा गरे।
भट्टराईले रवि र बालेनको एकताले मात्र रास्वपाको पाँच वर्षे भविष्य सुनिश्चित हुने भन्दै आफ्नो पुस्ताका कतिपय नेताले बुनेको तानाबानाहरूलाई अकबर र बिरबलको कथा सुनाए।