काठमाडौं । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ । केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ ।भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहने छ ।
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन । तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ । पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ । यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ ।
आज कहाँकहाँ पर्यो भारी वर्षा ?
विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।
यस्तै, पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५.६, मोरङ र सुनसरीमा ६३.६३ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो । हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ । यद्यपि लुम्बिनी सुदूरपश्चिम र कणाली प्रदशेमा भने खासै वर्षा हुन सकेको छैन ।
विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग तथा अन्य एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।