आरजु राणाले ईमेलमा भनिन्- उपचारमा छु, तत्कालै आउन सक्दिनँ

0 Shares

काठमाडौं । राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ। अख्तियारले म्याद तामेल गरेपछि उनले आयोगलाई विदेशबाटै ईमेलमार्फत त्यसको जवाफ पठाएकी छन्।

डा. राणाको नामबाट आयोगको ईमेलमा पत्र आएको हो। ईमेलमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल आउन नसक्ने भनिएको छ। ‘अनुसन्धानमा सहयोग गर्न तयार छु । स्वास्थ्योपचारका कारण तत्काल उपस्थित हुन सक्दिनँ’, उनले पत्रमा भनेकी छन् । राहदानी खरिद प्रकरणको अनुसन्धान अघि बढेपछि अख्तियारले डा. राणाको निवासमा म्याद तामेल गर्दै बाटोको म्यादबाहेक तीन दिनभित्र उपस्थित हुन भनेको थियो।

उनका पति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सिंगापुर हुँदै अहिले हङकङमा रहेको बताइन्छ। विद्युतीय राहदानी खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको लिखित निर्देशन वा प्रत्यक्ष संलग्न भएर गरेको कुनै निर्णय आयोगले भेटेको छैन। राहदानी विभागका महानिर्देशकको तहबाट हुने खरिद प्रक्रियामा माथिल्लो तहका अधिकारीहरूको संलग्नता पुष्टि हुने आधार पनि अख्तियारले भेट्न सकेको छैन ।

राहदानी छपाईको ठेक्का डिजाइन, प्याकेज निर्माण र ठेकेदार कम्पनीबीच समन्वयमा आरजु र छोरा जयवीर पनि संलग्न रहेको जिकिरसहित उजुरी परेपछि छानबिन गरिएको हो ।

 

सम्बन्धित समाचार