भृकुटीमण्डपमा शुुक्रबार देखि ‘फिन इलेक्ट्रो–टेक ’ आयोजना हुने

0 Shares

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ।

महासंघले पत्रकार सम्मेलनमार्फत आगामी जेठ २२ देखि २५ गते सम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा नेपालकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित विद्युतीय तथा ऊर्जा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो।

वि।सं १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको फिन इलेक्ट्रो–टेक प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीनतम प्रविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको महासंघले जनाएको छ। प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने अवसर प्रदान गर्दै आएको छ।

महासंघका अनुसार नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ। विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणाली विस्तार, विद्युतीय सवारीसाधनको प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको उपयोगलाई प्राथमिकता दिइएको वर्तमान अवस्थामा ‘फिन इलेक्ट्रो–टेक २०२६’ ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८३र८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै महासंघले यस्ता नीतिगत प्राथमिकतालाई व्यवहारमा उतार्न आवश्यक प्रविधि, सामग्री तथा सेवाको जानकारी र व्यवसायिक सहकार्यका लागि प्रदर्शनी प्रभावकारी साझा मञ्च बन्ने विश्वास व्यक्त गरेको छ।

प्रदर्शनीको औपचारिक उद्घाटन जेठ २२ गते बिहान १० बजे नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। उद्घाटन समारोहमा उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न मन्त्रालयका प्रतिनिधि, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माता, उद्योगी–व्यवसायी तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ। ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा तथा अत्याधुनिक प्रविधि प्रदर्शन गर्नेछन्।

प्रदर्शनीमा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेन्डली, के–नाइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजी गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ।

प्रदर्शनीमा विद्युतीय उपकरण तथा सामग्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन, एलईडी प्रविधि, विद्युतीय सुरक्षा प्रणाली, सौर्य तथा नवीकरणीय ऊर्जा प्रविधि, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि, परीक्षण तथा मापन उपकरण तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन गरिनेछ।

महासंघका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई टेवा पुर्‍याउनु, स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता, वितरक तथा उपभोक्ताबीच व्यवसायिक सम्बन्ध विस्तार गर्नु तथा नवीनतम प्रविधि र समाधानहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्नु हो।

प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट ९बी–टु–बी मिटिङ०, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिनेछन्। उद्योगी–व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, निर्माण व्यवसायी, विद्यार्थी तथा अनुसन्धानकर्ताले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्ने आयोजकको विश्वास छ।

यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर बाइ स्पोन्सर ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ। प्लाटिनम स्पोन्सर जनता केबल तथा केईआई, डायमण्ड स्पोन्सर लेजर इन्डिया र ग्रेटह्वाइट इलेक्ट्रिकल्स तथा गोल्ड स्पोन्सर ब्रिलियन्ट एलईडी रहेका छन्। प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गरिरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग रहने प्रदर्शनीमा देश तथा विदेशबाट करिब २५ हजार आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै महासंघको व्यवस्थापनमा देशभरका विभिन्न जिल्ला तथा नगरस्तरीय विद्युतीय व्यवसायी संघबाट करिब पाँच हजारभन्दा बढी व्यवसायीलाई काठमाडौं ल्याउने कार्यक्रम तय गरिएको छ।

प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ। आयोजकका अनुसार आगन्तुकहरूले अनिवार्य रूपमा क्यूआर कोड वा उपलब्ध डिजिटल लिंकमार्फत पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार